काठमाडौँ, १ असोजः चालु आर्थिक वर्ष २०८३र८४ को सुरुआती दुई महिनामै सरकारको खर्च आम्दानीभन्दा करिब रु नौ अर्ब ७२ करोडले बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख खर्च गरेको छ ।
यो रकम वार्षिक बजेटको नौ दशमलव ४१ प्रतिशत हो । सोही अवधिमा सरकारको aकुल राजस्व संकलन भने रु एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रहेको छ, जुन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत हो ।
सरकारको खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा चालु खर्चमा देखिएको छ । चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन गरिएकोमा भदौ मसान्तसम्म रु एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको नौ दशमलव छ प्रतिशत हो ।
पुँजीगत खर्च भने तुलनात्मक रूपमा निकै न्यून देखिएको छ । सरकारले चालु आर्थिक वर्षमा पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख विनियोजन गरेकोमा दुई महिनामा रु सात अर्ब ६६ करोड ४८ लाख मात्रै खर्च गरेको छ । यो वार्षिक लक्ष्यको एक दशमलव ७८ प्रतिशत हो ।
यता वित्तीय व्यवस्था शीर्षकमा भने खर्चको गति तुलनात्मक रूपमा उच्च छ । यस शीर्षकमा रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्म रु ७० अर्ब १३ करोड ७० लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको १६ दशमलव ५९ प्रतिशत हो ।
राजस्वतर्फ करबाट रु एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा कर राजस्वबाट रु १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख उठाउने लक्ष्य राखेको छ । त्यसैगरी गैरकर राजस्वतर्फ रु एक खर्ब ७७ अर्ब उठाउने लक्ष्य रहेकामा दुई महिनामा रु १० अर्ब ७७ करोड ६९ लाख संकलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड ५४ लाख प्राप्त गर्ने लक्ष्य राखेको छ । भदौ मसान्तसम्ममा भने लक्ष्यको आठ दशमलव ९६ प्रतिशत अर्थात् करिब रु पाँच अर्ब ५३ करोड अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
दुई महिनाको तथ्यांकले सरकारी खर्चको गति आम्दानीको तुलनामा केही अगाडि रहेको र पुँजीगत खर्च भने निकै सुस्त रहेको देखाएको छ ।



