images
images

विदेशबाट फर्किएर चार बिघामा तरकारी खेती, वार्षिक ४० लाख आम्दानी


  • 63
    SHARES
  • २०८३ भाद्र ३१ गते बुधबार

    विदेशबाट फर्किएर चार बिघामा तरकारी खेती, वार्षिक ४० लाख आम्दानी

    सुनसरी, ३१ भदौः दुई वर्षअघि कुवेतबाट फर्किएका बालक चन्द्रवंशी अहिले व्यावसायिक तरकारी खेतीबाट वार्षिक करिब रु ४० लाख आम्दानी गर्छन् । रु ५० हजार लगानीबाट सुरु गरेको खेती विस्तार गर्दै उनले अहिले करिब चार बिघा क्षेत्रफलमा तरकारी उत्पादन गरिरहेका छन् ।

    पहिले उनको बारीमा धान र मकै मात्र हुन्थ्यो । खेतीपाती घरखर्च धान्नका लागि पर्याप्त भए पनि नगद आम्दानी हुँदैनथ्यो । रोजगारीका लागि विदेश गए पनि अपेक्षाअनुसार आम्दानी नभएपछि उनी नेपाल फर्किएर कृषि पेसामा लागेका हुन् ।

    “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भनेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ,” चन्द्रवंशीले भने ।

    उनले करिब अढाई बिघामा गोलभेँडा खेती गरेका छन् । बाँकी क्षेत्रमा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसमी तरकारी उत्पादन हुन्छ । दैनिक तरकारी बिक्री हुने भएकाले खेतीबाट नियमित आम्दानी हुने गरेको उनको भनाइ छ ।

    भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गर्ने र कात्तिकको अन्तिम सातादेखि टिप्न थाल्ने गरिएको छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेका छन् ।

    आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने र टाढाका बजारमा समेत पठाउन सहज हुने भएकाले उनले गोलभेँडा खेतीलाई प्राथमिकता दिएका छन् । केही कलमी बिरुवा भारतबाट ल्याउने र बाँकी आफैँ उत्पादन गर्ने गरेका छन् ।

    उत्पादन बिक्री गर्न बजारसम्म आफैँ धाउनुपर्ने अवस्था छैन। धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका ठाउँबाट व्यापारी बारीमै पुगेर तरकारी खरिद गरी लैजाने गरेका छन्। सडक तथा यातायातको सहज पहुँचले बजार व्यवस्थापनमा पनि सहयोग पुगेको चन्द्रवंशीले बताए ।

    उनको खेतमा वर्षभरि १२ जनाभन्दा बढी कामदार कार्यरत छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको छ ।  श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार अभाव हुने गरेको छ। त्यसैले चन्द्रवंशीले सप्तरीबाट कामदार ल्याएर खेतीमा लगाउने गरेका छन् ।

    तरकारी खेतीसँगै उनले करिब अढाई बिघामा मकै खेतीसमेत गर्दै आएका छन् । मकै बिक्रीबाट मात्रै वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ। कृषि आम्दानीबाट उनले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गरेका छन् । गाउँमै राम्रो कमाइ छ। रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । अहिले राम्रो व्यवसायी भनेर चिन्छन्। नाम पनि छ, दाम पनि छ,” चन्द्रवंशीले भने ।

    उनको खेतमा चार वर्षदेखि काम गर्दै आएका सप्तरीका राजकुमार पनि स्थानीयस्तरमै रोजगारी पाउँदा खुसी छन् । “आफ्नो गाउँमा पर्याप्त खेती गर्ने बारी छैन, काम पनि पाइँदैन। यहाँ आएर काम गरिरहेको छु । विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ,” उनले भने ।

    नेपालमा रु १५–२० हजार आम्दानी भए पनि बचत गर्न सकिने र विदेशमा रु ४०-५० हजार कमाउँदा समेत खर्च धान्न कठिन हुने आफ्नो अनुभव रहेको राजकुमारले बताए । सङ्गीता राई/ राससको सहयोगमा




    images
    images

    Logo