सुनसरी, ३१ भदौः दुई वर्षअघि कुवेतबाट फर्किएका बालक चन्द्रवंशी अहिले व्यावसायिक तरकारी खेतीबाट वार्षिक करिब रु ४० लाख आम्दानी गर्छन् । रु ५० हजार लगानीबाट सुरु गरेको खेती विस्तार गर्दै उनले अहिले करिब चार बिघा क्षेत्रफलमा तरकारी उत्पादन गरिरहेका छन् ।
पहिले उनको बारीमा धान र मकै मात्र हुन्थ्यो । खेतीपाती घरखर्च धान्नका लागि पर्याप्त भए पनि नगद आम्दानी हुँदैनथ्यो । रोजगारीका लागि विदेश गए पनि अपेक्षाअनुसार आम्दानी नभएपछि उनी नेपाल फर्किएर कृषि पेसामा लागेका हुन् ।
“नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भनेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ,” चन्द्रवंशीले भने ।
उनले करिब अढाई बिघामा गोलभेँडा खेती गरेका छन् । बाँकी क्षेत्रमा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसमी तरकारी उत्पादन हुन्छ । दैनिक तरकारी बिक्री हुने भएकाले खेतीबाट नियमित आम्दानी हुने गरेको उनको भनाइ छ ।
भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गर्ने र कात्तिकको अन्तिम सातादेखि टिप्न थाल्ने गरिएको छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेका छन् ।
आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने र टाढाका बजारमा समेत पठाउन सहज हुने भएकाले उनले गोलभेँडा खेतीलाई प्राथमिकता दिएका छन् । केही कलमी बिरुवा भारतबाट ल्याउने र बाँकी आफैँ उत्पादन गर्ने गरेका छन् ।
उत्पादन बिक्री गर्न बजारसम्म आफैँ धाउनुपर्ने अवस्था छैन। धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका ठाउँबाट व्यापारी बारीमै पुगेर तरकारी खरिद गरी लैजाने गरेका छन्। सडक तथा यातायातको सहज पहुँचले बजार व्यवस्थापनमा पनि सहयोग पुगेको चन्द्रवंशीले बताए ।
उनको खेतमा वर्षभरि १२ जनाभन्दा बढी कामदार कार्यरत छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको छ । श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार अभाव हुने गरेको छ। त्यसैले चन्द्रवंशीले सप्तरीबाट कामदार ल्याएर खेतीमा लगाउने गरेका छन् ।
तरकारी खेतीसँगै उनले करिब अढाई बिघामा मकै खेतीसमेत गर्दै आएका छन् । मकै बिक्रीबाट मात्रै वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ। कृषि आम्दानीबाट उनले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गरेका छन् । गाउँमै राम्रो कमाइ छ। रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । अहिले राम्रो व्यवसायी भनेर चिन्छन्। नाम पनि छ, दाम पनि छ,” चन्द्रवंशीले भने ।
उनको खेतमा चार वर्षदेखि काम गर्दै आएका सप्तरीका राजकुमार पनि स्थानीयस्तरमै रोजगारी पाउँदा खुसी छन् । “आफ्नो गाउँमा पर्याप्त खेती गर्ने बारी छैन, काम पनि पाइँदैन। यहाँ आएर काम गरिरहेको छु । विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ,” उनले भने ।
नेपालमा रु १५–२० हजार आम्दानी भए पनि बचत गर्न सकिने र विदेशमा रु ४०-५० हजार कमाउँदा समेत खर्च धान्न कठिन हुने आफ्नो अनुभव रहेको राजकुमारले बताए । सङ्गीता राई/ राससको सहयोगमा



