images
images

तीज आजदेखि : माइतीघरमा चेलीबेटीको चहलपहल


  • 86
    SHARES
  • २०८३ भाद्र २८ गते आइतबार

    तीज आजदेखि :  माइतीघरमा चेलीबेटीको चहलपहल

    काठमाडौँ, २८ भदौ । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका तीज आजदेखि सुरु हुँदैछ । तीजको मुख्य व्रतका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले आज साँझ नेपाली नारीले परम्पराअनुसार दर खाने तयारी गरेका छन् । दर खाएसँगै चारदिने तीजपर्व औपचारिक रूपमा सुरु हुनेछ ।

    भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने र त्यसको भोलिपल्ट अर्थात् तृतीयाका दिन निराहार व्रत बस्ने परम्परा छ । यही परम्पराअनुसार माइतीले चेलीबेटी, दिदीबहिनीलाई बोलाएर दर खुवाउने चलन नेपाली समाजमा अझै जीवित छ ।

    दरका रूपमा विशेषगरी दूधबाट बनेका परिकार, मिठाई, रोटी, घिउलगायत आडिला खानेकुरा खाने गरिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार व्रत बस्नेहरूका लागि गहुँको रोटी र घिउजस्ता परिकार तुलनात्मक रूपमा बढी आडिला मानिन्छन् ।

    निराहार व्रतअघि दर खाने परम्परा

    तीजको मुख्य आकर्षण भाद्र शुक्ल तृतीयाका दिन बसिने हरितालिका व्रत हो । धेरैजसो व्रतालु निराहार बस्ने भएकाले त्यसको अघिल्लो साँझ दर खाने परम्परा बसेको हो ।

    शास्त्रीय मान्यताअनुसार द्वितीयाको राति नै दर खाइसक्नुपर्ने हुन्छ । विशेषगरी दाजुभाइ तथा माइती पक्षले छोरी, चेली र दिदीबहिनीलाई घरमा बोलाएर दर खुवाउने गर्छन् । यसले पारिवारिक भेटघाटसँगै माइती र चेलीबीचको आत्मीयता बढाउने अवसरसमेत प्रदान गर्छ ।

    तीज महिलाका लागि केवल धार्मिक व्रत र पूजाको पर्व मात्र नभई आफ्ना सुखदुःख, पीडा र अनुभव अभिव्यक्त गर्ने अवसरका रूपमा समेत स्थापित छ । तीजका गीतमार्फत महिलाले जन्मघर छाडेर कर्मघर पुगेपछि भोगेका दुःख, पीडा र सामाजिक अवस्थालाई अभिव्यक्त गर्ने गरेका छन् ।

    चार दिनसम्म मनाइन्छ तीज

    आज बेलुकी दर खाएसँगै सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

    भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत तथा भगवान् शिवको पूजा गरिन्छ । चौथीका दिन गणेश भगवान्को पूजा गरिन्छ भने पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीजपर्व समापन हुन्छ ।

    यस वर्ष भदौ ३० गते मङ्गलबार गणेश चौथी तथा ऋषि पञ्चमी पर्व मनाइने स्वीकृत पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाइन्छ भने ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेको दिन मनाउने शास्त्रीय विधि छ ।

    पार्वतीको तपस्यासँग जोडिएको तीजको कथा

    हरितालिका तीजको धार्मिक तथा पौराणिक सम्बन्ध भगवान् शिव र पार्वतीसँग जोडिएको छ ।

    पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति पाउने इच्छा राखेर गौरीघाटमा कठोर तपस्या गरेकी थिइन् । तर पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना साथीहरूसँग आफ्नो समस्या सुनाइन् ।

    साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखेको र त्यहीँ उनले निराहार व्रत तथा तपस्या गरी भगवान् शिवलाई पतिका रूपमा प्राप्त गरेको कथा पुराणमा उल्लेख छ ।

    साथीहरूले हरण गरी लुकाएर राखेको घटनासँग जोडिएकाले भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ ।

    तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्छ । दिदीबहिनी, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र गीत–सङ्गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने क्रमले पनि तीजलाई नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व बनाएको छ ।

    तीज सुरु भएसँगै रेडियो, टेलिभिजनदेखि सामाजिक सञ्जालसम्म तीजका गीत गुञ्जिन थालेका छन् । ‘तीजको रहर आयो बरी लै’ जस्ता चर्चित गीतले पर्वको आगमनसँगै नेपाली समाजको वातावरणलाई नै तीजमय बनाउने गरेका छन् ।

    तीजपछि नेपालीको अर्को ठूलो पर्व बडादसैँ र त्यसपछि तिहार आउने भएकाले तीजसँगै नेपाली समाज क्रमशः ठूला पर्वको उत्सवमा प्रवेश गर्छ ।




    images
    images

    Logo