भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित नागरिकको पुनर्स्थापना भोटेकोशी र त्रिशूली नदी किनारमा गर्न नहुने बताएका छन् ।
शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्र अझै बाढीको जोखिममा रहेकाले दीर्घकालीन सोचका साथ सुरक्षित स्थानमा बस्ती पुनर्स्थापना गर्नुपर्ने बताए ।
उनले भोटेकोशी र त्रिशूली नदीका दायाँ–बायाँ अब बस्ती बसाल्नु उपयुक्त नहुने स्पष्ट पारे । प्रभावित नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले स्थायी आवास निर्माण गर्ने सहमति भएको उनले जानकारी दिए ।
मुख्यमन्त्री थापामगरका अनुसार नुवाकोटका बाढी प्रभावितका लागि विदुर नगरपालिकामा जग्गा पहिचान भइसकेको छ । रसुवाका प्रभावितका लागि भने जग्गा खोजी भइरहेको उनले बताए ।
उनले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको पनि बताए ।



