भक्तपुर, २६ भदौः भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति व्यहोरेका नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरले एक करोड १९ लाख तीन हजार सात सय ८५ रुपैयाँ ३४ पैसा सहयोग गरेको छ।
जिल्ला प्याब्सन भक्तपुरको आह्वानमा सदस्य विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयबाट संकलित उक्त रकमको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न नेपाल प्याब्सनको केन्द्रीय नेतृत्वलाई हस्तान्तरण गरिएको हो।
विपद्मा परेका नागरिकको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा भक्तपुरका निजी विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीले सामूहिक रूपमा सहयोग गरेका हुन्। ठूलो रकम संकलन हुनु निजी विद्यालय क्षेत्रले विपद्का बेला निर्वाह गरेको सामाजिक उत्तरदायित्वको उदाहरणसमेत बनेको छ।
जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कास्पालले विपद्का समयमा सहयोग अभियानमा सहभागी सम्पूर्ण सदस्य विद्यालय, प्रधानाध्यापक, विद्यार्थी तथा शिक्षक–कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।
उनले बाढीपहिरोजस्ता प्राकृतिक विपद्ले पीडित परिवारको घर, सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पु¥याएको अवस्थामा राहतसँगै उनीहरूलाई आशा र भरोसा दिलाउन सामाजिक क्षेत्रको सामूहिक पहल आवश्यक रहेको बताए ।
“विपद्को समयमा देखाएको एकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता जिल्ला प्याब्सन भक्तपुरको गौरव हो,” अध्यक्ष कास्पालले भने, “संकलित सहयोगले विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास लिएका छौँ।”
भोटेकोशी बाढीले विशेषगरी रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। बाढीका कारण घर, पुल, सडक, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै धेरै परिवार विस्थापित भएका छन्।
भक्तपुर प्याब्सनले विपद्को घडीमा सहयोग गर्ने अभियानलाई मानवीय सेवाको दायित्वका रूपमा अघि बढाएको जनाएको छ। “मानवीय सेवामा हातेमालो गरौँ, विपद्मा परेकाहरूको साथ बनौँ” भन्ने भावनासहित संकलित सहयोग पीडितको राहत र पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ।



