नुवाकोट, २५ भदौ । भोटेकोशीको भीषण बाढीले देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि टुटेको नुवाकोट–धादिङ–रसुवागढी सडक सम्पर्क पुनः जोडिएको छ। नेपाली सेनाले दिनरात खटिएर देवीघाटमा ५७.९ मिटर लामो एक्रोब्रिज निर्माण गरी बिहीबार बेलुकादेखि सञ्चालनमा ल्याएको हो।
भदौ १० गते आएको बाढीले विदुर र बेलकोटगढी नगरपालिका जोड्ने तादी खोलाको पुल बगाएपछि दुई नगरबीचको आवागमन मात्रै प्रभावित भएको थिएन, नुवाकोट हुँदै धादिङ र रसुवागढी जोड्ने महत्वपूर्ण सडक सम्पर्कसमेत टुटेको थियो।
बाढीले पुल बगाएपछि स्थानीयवासीलाई घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। दैनिक आवतजावत, व्यापार–व्यवसाय र अत्यावश्यक सेवासमेत प्रभावित भएपछि सरकारले देवीघाटमा तत्काल वैकल्पिक पुल निर्माणलाई प्राथमिकतामा राखेको थियो।
सरकारको निर्णयअनुसार नेपाली सेनाले भदौ २० गतेदेखि पुल निर्माण सुरु गरेको थियो। काम सुरु गरेको पाँच दिनमै पुल तयार पारिएपछि बिहीबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्।
बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनीका लागि पुल सञ्चालनमा आउनु बाढीपछिको पीडाबीच आएको ठूलो राहत हो।
देवीघाटमा पुल नहुँदा घुमाउरो बाटोबाट घर पुग्न दुई–तीन घण्टासम्म लाग्ने गरेको स्थानीयको भनाई थियो ।
७२ घण्टामै मुख्य काम सम्पन्न
नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार पाँच दिनको अवधिमा पुल निर्माण भए पनि वास्तविक कार्यअवधि ७२ घण्टाभन्दा बढी थिएन। ५५ जना प्राविधिकलाई दिनरात खटाएर पुल निर्माण सम्पन्न गरिएको उनले बताए ।
नेपाली सेनाले प्राविधिक परीक्षण पूरा गरेपछि पुल सञ्चालनमा ल्याएको हो। पुल बनेसँगै बाढीका कारण टुटेको पृथ्वीराजमार्गसँगको सडक सम्पर्कसमेत पुनः जोडिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए ।
गजुरीमा थन्किएको रणनीतिक पुल देवीघाटमा
देवीघाटमा जडान गरिएको एक्रोब्रिज नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले निर्माण गरेको हो।
नेपाली सेनाका १४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काका अनुसार सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा पुल देवीघाटमा ल्याएर जडान गरिएको हो।
६० टनसम्म भार थेग्ने क्षमता
नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार देवीघाटमा जडान गरिएको एक्रोब्रिज अमेरिकी प्रविधिमा आधारित भएकाले गुणस्तरीय र उच्च भारवहन क्षमताको छ। यस पुलले ६० टनसम्मको भार थेग्न सक्ने क्षमता राख्छ।
बाढीले सडक र पुलको सम्पर्क विच्छेद हुँदा दैनिक जीवन नै प्रभावित बनेका स्थानीयका लागि पाँच दिनमै तयार भएको यो पुल अहिले आवागमनको साधन मात्रै होइन, बाढीपछिको पुनःस्थापनातर्फ फर्किएको आशाको प्रतीक बनेको छ।



