काठमाडौं । नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ तथा जितेन रामानन्दीले १३ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए । ललित राजवंशी र रोहित पौडेलले २–२ विकेट लिए ।
त्यसअघि क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो ।
नेपालको इनिङ्समा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन जोडे । नेपाल २३ रनमा पहिलो विकेट गुमाएपछि ३६–४ को संकटमा पुगेको थियो । त्यसपछि दीपेन्द्र र बसिरले ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।
ओपनर देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए । ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५ र सन्दीप लामिछानेले ३ रन बनाए ।
ओमानका जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिँदै ३ विकेट लिए । मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए ।
सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनोट भएको छ ।
अब नेपालले उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यूएईले हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
फाइनलमा यूएईलाई पराजित गर्न सके नेपालले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।



