विराटनगर, १९ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार बाढीमा परी कोशी प्रदेशका विभिन्न जिल्लाका २०४ जना बेपत्ता भएका थिए। तीमध्ये ३० जना सम्पर्कमा आइसकेका छन् भने हाल १६० जनाको खोजी जारी रहेको छ।
बाढीका कारण एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। त्यस्तै, १२ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीमा परेर बेपत्ता भएकामध्ये झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका तीन, उदयपुरका २१, ओखलढुङ्गाका ४८, खोटाङका ११ र सोलुखुम्बुका ४५ जना रहेका छन्।
बेपत्ता भएकाहरूको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।



