images
images

भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, हजारौँ अझै सम्पर्कविहीन


  • 254
    SHARES
  • २०८३ भाद्र १७ गते बुधबार

    भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा अहिलेसम्म १ हजार १२७ वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

    प्रहरीले आज बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेको जनाएको छ । यस्तै, बाढी प्रभावित क्षेत्रबाट ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेका छन् ।

    प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ । अझै ९११ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

    बाढीमा परेर बेपत्ता हुनेहरूको संख्या पनि ठूलो रहेको छ । प्रहरीको तथ्याङ्कअनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । यसबाहेक १ हजार ३५० जनाको बारेमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

    एक साताअघि बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।

    यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ । धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरिएको छ ।

    प्राधिकरणका अनुसार बाढीका कारण अहिलेसम्म १ हजार ५० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। अहिलेसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ । हेलिकोप्टरमार्फत मात्रै ४ हजारभन्दा बढी मानिसको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

    खोज तथा उद्धार कार्यमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय उद्धार टोलीसमेत खोज तथा उद्धार कार्यमा संयुक्त रूपमा परिचालन भएका छन् ।

    बाढीबाट घाइते भएका २९२ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको छ। जसमध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

    विद्यालयदेखि स्वास्थ्य संस्था र पुलसम्म व्यापक क्षति

    बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा अध्ययनरत ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् । तीमध्ये ८ विद्यालय पूर्ण रूपमा र ८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने ३ वटा विद्यालय मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

    रसुवाको स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् । यस्तै, धादिङको गल्छीस्थित बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ ।

    भोटेकोशी बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने थप ४ वटा पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण रूपमा र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी–त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४ हजार ६८९ भवन जोखिममा रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

    १४ हजारभन्दा बढी नागरिक सडक, विद्युत् र सञ्चारबाट विच्छेद

    रसुवाका अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक प्रभावित भएका छन् । प्रतिवेदनअनुसार उनीहरू सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र अवस्थामा रहेका छन् ।

    बाढीबाट रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–१, मैलुङखोला, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायतका जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

    सरकार तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र क्षतिको विस्तृत विवरण संकलनको कामलाई निरन्तरता दिइरहेका छन् ।


    images
    images

    Logo