images
images

जेनजी शहीद दिवसमा भदौ २३ गते सार्वजनिक बिदा


  • 113
    SHARES
  • २०८३ भाद्र १८ गते बिहीबार

    जेनजी शहीद दिवसमा भदौ २३ गते सार्वजनिक बिदा

    काठमाडौं । सरकारले जेनजी शहीद दिवसका अवसरमा आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा जेनजी शहीद दिवस मनाउने र भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

    त्यस्तै सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय पनि गरेको छ ।

    निर्णयअनुसार बाढीको घटना भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाइनेछ । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारको निर्णयमा उल्लेख छ ।

    मन्त्रिपरिषद् बैठकले रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल पुनः सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायत विभिन्न सहुलियत सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    यस्तै बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरिएको छ । उद्धारका क्रममा घाइते भएका सुरक्षा कर्मचारीको निःशुल्क उपचार गर्ने तथा मृत्यु भएमा मृतकको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।


    images
    images

    Logo