काठमाडौँ, १९ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा फेरि भारी वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो विशेषगरी रसुवाको पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना छ भने अन्य बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षा हुनसक्नेछ।
‘देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा झापाको अनारमनी बिर्तास्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी ३४ मिलिमिटर वर्षा मापन भएको छ,’ महर्जनले भने ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ । अहिले देशभर सामान्यतया बदली रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
धेरै क्षेत्रमा मेघगर्जनसहित वर्षा
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीसमेत चल्नसक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।
विभागका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना कायमै रहनेछ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमै पुनः वर्षा हुने पूर्वानुमान भएपछि स्थानीय प्रशासन तथा उद्धार र राहतमा संलग्न निकायलाई थप सतर्कता अपनाउनुपर्ने देखिएको छ ।



