बैतडी, १९ भदौ । बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी १७ वर्षीया अस्मिता पन्तले अब नेपाली नागरिकको हैसियतमा राज्यबाट पाउने सेवा–सुविधा लिन सक्ने भएकी छन्। ‘क’ वर्गको अपाङ्गता भएकी अस्मितालाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी अस्मिताको घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
मानसिक अपाङ्गताका कारण अस्मिताका लागि नागरिकता लिन जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु सम्भव थिएन । त्यसैले प्रशासनले कार्यालयमै आउनुपर्ने बाध्यता हटाउँदै घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो ।
नागरिकता पाएसँगै अस्मिता सरकार तथा स्थानीय तहबाट अपाङ्गता भएका नागरिकका लागि उपलब्ध हुने विभिन्न सेवा–सुविधा प्राप्त गर्न योग्य भएकी छन् ।
‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत सेवा
सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
उनका अनुसार जिल्लाका सबै १० स्थानीय तहले नागरिकता लिने उमेर पुगेका तर शारीरिक अशक्तता वा अपाङ्गताका कारण प्रशासन कार्यालयसम्म पुग्न कठिनाइ भएका व्यक्तिको विवरण सङ्कलन गरिरहेका छन् ।
‘सङ्कलित विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उहाँहरूको घरमै पुगेर नागरिकता वितरण गर्दै आएका छौँ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन् ।
यस कार्यक्रमले कार्यालयसम्म पुग्न नसक्ने अशक्त तथा अपाङ्गता भएका नागरिकका लागि ‘सरकार नागरिकको घरदैलोमा’ भन्ने अनुभूति दिलाएको छ ।



