images
images

कृष्णलाई नगर परिक्रमा गराउँदै भक्तपुरको गाईजात्रा सम्पन्न


  • 67
    SHARES
  • २०८३ भाद्र १९ गते शुक्रबार

    कृष्णलाई नगर परिक्रमा गराउँदै भक्तपुरको गाईजात्रा सम्पन्न

    भक्तपुर । जनैपूर्णिमाको दिनदेखि सुरु भएको भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक गाईजात्रा आठ रात र नौ दिनपछि आज सम्पन्न भएको छ। कृष्ण जन्माष्टमीका अवसरमा भगवान् कृष्णलाई नगर परिक्रमा गराएसँगै यस वर्षको गाईजात्रा विधिवत् समापन गरिएको हो।

    जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा छ। त्यसपछि भक्तपुरमा सात दिनसम्म घिन्ताङघिसी नाच, विभिन्न परम्परागत नाच तथा व्यङ्ग्यात्मक प्रस्तुतिमार्फत जात्राको रौनक कायम रहने गर्दछ।

    गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरका विभिन्न स्थानमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख, जङ्गली नाच लगायतका सांस्कृतिक प्रस्तुति देखाइएका थिए। व्यङ्ग्यात्मक कार्टुन र प्लेकार्ड प्रदर्शन गर्दै नगर परिक्रमा गराइँदा भक्तपुरका सडकहरू दर्शकले भरिभराउ बनेका थिए।

    अन्तिम दिन नगरभरि बाजागाजा र परम्परागत पहिरनको रौनक

    गाईजात्राको अन्तिम दिन आज भक्तपुर नगर परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी र परम्परागत पहिरनले झकिझकाउ बनेको थियो। हाकुपटासीमा सजिएका सयौँ महिला तथा दौरा–सुरुवाल लगाएका पुरुषहरू बाजागाजासहित नारायणलाई बत्ती बाल्दै नगर परिक्रमा गरेका थिए।

    श्रीकृष्ण जन्माष्टमीका अवसरमा बालबालिका र युवाहरूले टाउको, हात तथा शरीरमा पालाको बत्ती बालेर भगवान् नारायणको पूजा गरेका थिए। उनीहरूले सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो र दरबार क्षेत्र हुँदै पुनः सूर्यमढीसम्म नगर परिक्रमा गरेका थिए।

    भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले टोलटोलमा सञ्चालन भइरहेका सांस्कृतिक प्रतियोगिता तथा ऐतिहासिक नाचहरूको प्रदर्शनीसँगै जात्रा आजबाट समापन भएको जानकारी दिए। उनका अनुसार भक्तपुरका विभिन्न टोलबाट सयौँ वर्षदेखि चलिआएका ऐतिहासिक र सांस्कृतिक नाच प्रस्तुत गरिएका थिए।

    जात्राप्रेमी सविना बोहजुका अनुसार अन्तिम दिन घिन्ताङघिसी नाच हेर्न आउने दर्शकहरूको बाटोभरि लर्को लागेको थियो।

    ‘आज भक्तपुर नगर पूरै बाजागाजामय, परम्परागत पोसाकमय र घिन्ताङघिसीमय बनेको छ,’ उनले भनिन्।

    जात्रामा पाँच–दश वर्षका बालबालिकादेखि ७०–८० वर्ष उमेर समूहका वृद्धवृद्धासम्म उत्साहपूर्वक सहभागी भएका थिए। आठ रात र नौ दिनसम्म चलेको गाईजात्राले भक्तपुरलाई एकपटक फेरि परम्परा, संस्कृति, व्यङ्ग्य र उल्लासको जीवन्त सहर बनाएको छ।




    images
    images

    Logo