images
images

‘विश्वमै विज्ञता छैन’ कि नेपालले विज्ञता उपयोग गर्न सकेन ?


  • 174
    SHARES
  • २०८३ भाद्र १७ गते बुधबार

    ‘विश्वमै विज्ञता छैन’ कि नेपालले विज्ञता उपयोग गर्न सकेन ?

    ‘सुरुङभित्र पसेको लेदो पन्छाएर मानिसको उद्धार गर्ने प्रविधि र विज्ञता विश्वमै छैन ।’ प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभामा यस्तो दाबी गरे । 

    रसुवा–नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा बाढीसँगै पसेको हिलो, लेदो र गेग्रानका कारण उद्धार असाधारण रूपमा कठिन बनेको तथ्यमा भने विवाद छैन । १ हजारजति मानिस विभिन्न टनेलमा थुनिएको तथ्यांक वाहिर आइसकेको छ । उनीहरुलाई निकाल्न निकै कठिनाईको समना गरिरहनु परेको छ । तर, कठिन हुनु र संसारमा त्यसको कुनै विज्ञता नै नहुनु एउटै कुरा होइन ।

    विश्वका सुरुङ दुर्घटना र उद्धारका अनुभवले प्रधानमन्त्रीको यो दाबीलाई प्रश्न गर्ने पर्याप्त आधार दिन्छ । 

    सिल्क्यारा -४१ जना फसे, ४१ जनै जीवित निस्किए
    सन् २०२३ नोभेम्बरमा उत्तराखण्डको सिल्क्यारा–बारकोट सुरुङको एक भाग भत्किँदा ४१ जना कामदार १७ दिनसम्म सुरुङभित्र फसे । तर अन्ततः सबै ४१ जनालाई जीवितै बाहिर निकालियो । भारतको राष्ट्रिय विपद् उद्धार बलले यसलाई विभिन्न सरकारी निकाय, सुरुङ तथा निर्माण विशेषज्ञ र उद्धार टोलीको संयुक्त १७ दिने अभियानका रूपमा अभिलेख गरेको छ ।

    उद्धारमा एउटा मात्र उपाय प्रयोग भएको थिएन । सुरक्षित भागमा रहेका कामदारसम्म पाइपबाट पानी, खाना, औषधि र अन्य सामग्री पुर्याइयो । त्यसपछि विभिन्न दिशाबाट ड्रिलिङ र काट्ने प्रविधि प्रयोग गरियो । अन्तिम चरणमा वैकल्पिक विधिसमेत अपनाएर सबै कामदारलाई बाहिर निकालियो ।

    अर्थात्, सुरुङभित्र मानिस फस्नु भनेको उद्धार असम्भव हुनु होइन । स्रोतका अनुसार सिल्क्यारामा उद्धार अभियानको अनुभव बोकेको भारतीय टोली अहिले नेपालमा छ ।

    नेपालले रसुवा–नुवाकोटको विपद्पछि भारतबाट सुरुङ उद्धार विशेषज्ञसहितको टोलीलाई ढिलै भएपनि काम गर्ने अनुमती दिएको छ । सिल्क्यारा उद्धारमा संलग्न विज्ञहरू नेपाल आएर काममा जुटिरहेका छन् । 

    अझ रोचक कुरा, सिल्क्यारा उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अस्ट्रेलियाली सुरुङ विशेषज्ञ प्राध्यापक अर्नोल्ड डिक्सले समेत नेपालमा भइरहेको उद्धार प्रयासमा परामर्श दिइरहेका छन् ।

    यसपटक नेपालमा बाढीवाट सयौँको ज्यान बचाइसकिएको छ । भोटेकोशी–त्रिशूली बाढीले जलविद्युत् आयोजनाका सुरुङ र भूमिगत संरचनामा ठूलो क्षति पुर्याए पनि सयौँ कामदारलाई जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनालाई जीवित उद्धार गरिएको विवरण सार्वजनिक भएको छ । बाढी, पानी र हिलोबीच मानिसहरू सुरुङबाट बाहिर निस्किन सफल भएका प्रत्यक्ष विवरणसमेत आएका छन् ।

    ‘लेदो’ विश्वका लागि नयाँ चुनौती होइन - सुरुङभित्र पानी, हिलो र गेग्रान पस्ने जोखिमलाई इन्जिनियरिङ भाषामा ‘वाटर इनरश’ लगायतका जोखिमका रूपमा लामो समयदेखि अध्ययन गरिँदै आएको छ । चीनमा सुरुङ निर्माणका क्रममा पानी र हिलो अचानक ठूलो दबाबसहित सुरुङमा पस्ने घटनाको वैज्ञानिक अध्ययन भएका छन् । यस्तो अवस्थामा सुरुङभित्र पानीको तह, भूगर्भीय अवस्था, चुहावट, ग्यास, सतहको जलविज्ञान र संरचनाको स्थायित्व निरन्तर निगरानी गर्ने प्रणालीसमेत प्रयोग गरिएको अनुसन्धानमा उल्लेख छ ।

    चमोली र सिल्क्यारा -एउटै हिमालय, फरक परिणाम
    उत्तराखण्डकै दुई घटनाले यो कुरा अझ स्पष्ट पार्छ । सन् २०२१ को चमोली विपद्मा हिमनदीजन्य बाढीले तपोवन–विष्णुगाड जलविद्युत् आयोजनाका सुरुङमा ठूलो क्षति पुर्यायो । सुरुङभित्र हिलो, गाद र गेग्रानको भयावह मात्रा पस्यो र ठूलो मानवीय क्षति भयो ।

    तर त्यसै हिमाली भूगोलमा दुई वर्षपछि सिल्क्यारामा ४१ जना कामदार १७ दिनसम्म सुरुङभित्र फसेर पनि सबै जीवितै उद्धार भए । त्यसैले यी घटनाबाट निकाल्नुपर्ने निष्कर्ष ‘संसारसँग प्रविधि छैन’ भन्ने होइन ।

    सुरुङको भौगोलिक अवस्था, फसेका मानिसको स्थान, सुरुङभित्र बाँकी रहेको हावा, पानी र लेदोको मात्रा, वैकल्पिक पहुँच, उपकरण पुग्ने अवस्था र उद्धार सुरु भएको समयले परिणाम निर्धारण गर्छ ।

    सरकारले अहिले चीन, भारत, दक्षिण कोरिया र अन्य अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिइरहेको छ । विभिन्न टोलीले सुरुङमा प्रवेश, पानी निकाल्ने, हावा पठाउने, ड्रिलिङ गर्ने, क्यामेरा पठाउने र लेदो हटाउने काम गरिरहेका छन् ।

    माथिल्लो त्रिशूली–३ ‘ए’मा सुरुङको मुख पहिचान गरी हावा पठाउने र पानी निकाल्ने काम भइरहेको छ । केही स्थानमा उद्धार टोली सयौँ मिटरभित्र प्रवेश गरिसकेको छ ।

    यसलाई ‘उद्धारको कुनै विज्ञता छैन’ भनेर व्याख्या गर्न मिल्दैन । बरु विज्ञलाई कति छिटो परिचालन गरियो ? सुरुङको वास्तविक नक्सा र जोखिमको सूचना कति छिटो उपलब्ध भयो ? वैकल्पिक प्रवेशद्वार कति छन् ? आपत्कालीन उद्धार योजना पहिले नै तयार थियो कि थिएन ? यी प्रश्नको जवाफ खोज्नु सरकारलाई दोष लगाउनु मात्र होइन, भविष्यमा सयौँ नेपालीको जीवन जोगाउने तयारी गर्नु हो ।

    प्रधानमन्त्रीले उद्धारमा खटिएका सेना, प्रहरी र प्राविधिक टोलीको मनोबल बढाउन खोज्नु स्वाभाविक हो । यस्तो विपद्मा उद्धारकर्मीमाथि अनावश्यक आरोप लगाउनु उचित हुँदैन । तर सरकारका प्रमुखले संसदमा ‘विश्वमै विज्ञता छैन’ भन्ने सन्देश दिनुचाहिँ फरक विषय हो । 

    त्यसैले प्रश्न उठ्छ, विश्वमै विज्ञता छैन भने भारतबाट सुरुङ उद्धार विशेषज्ञ किन बोलाइयो ? अर्नोल्ड डिक्सजस्ता अन्तर्राष्ट्रिय सुरुङ विशेषज्ञले नेपाललाई किन परामर्श दिइरहेका छन् । 

    सुरुङभित्र अड्किएका जीवित मानिसलाई बाहिर निकाल्न संसारमा उपलब्ध हरेक ज्ञान, विज्ञ, उपकरण र प्रविधि प्रयोग भयो कि भएन, इतिहासले मूल्याङ्कन गर्ने प्रश्न यही हो । 
    एजेन्सीको सहयोगमा, नेपालअर्थ डेक्स्




    images
    images

    Logo