काठमाडौं । भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये हालसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । त्यस्तै, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीमा परी ५ हजार ९३० जना अझै बेपत्ता छन् । बाढीबाट ३३३ जना घाइते भएका छन् भने उपचारपछि २५६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६१५ जना, रसुवामा ७७५ जना र धादिङमा २९५ जना रहेका छन् ।
होल्डिङ सेन्टरमा प्रभावितलाई खाना तथा बसोबासको व्यवस्था गरिएको छ । साथै, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितका लागि मनोसामाजिक परामर्श सेवा समेत सञ्चालन गरिरहेको प्राधिकरणले जनाएको छ ।



