images
images

अर्थतन्त्र चलायमान बनाउन सरकारका पाँच विशेष प्याकेज


  • 78
    SHARES
  • २०८३ भाद्र २६ गते शुक्रबार

    अर्थतन्त्र चलायमान बनाउन सरकारका पाँच विशेष प्याकेज

    काठमाडौँ, २६ भदौ । अर्थतन्त्रमा देखिएको शिथिलता हटाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले पाँचवटा विशेष प्याकेज अघि बढाउने भएको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि तत्काल प्रभाव पार्ने क्षेत्रलाई प्राथमिकतामा राखेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइएको जानकारी दिए।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले भोटेकोशी बाढीको पुनरुत्थानदेखि पुँजीबजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिरिने प्रयास र अन्तर्राष्ट्रिय वित्त परिचालनसम्मका विषयलाई प्याकेजमा समेटिएको बताए।

    पहिलो प्याकेज भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनामा केन्द्रित हुनेछ। बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि आवश्यक अध्ययन भइसकेको र त्यसअनुसार काम अघि बढाइएको अर्थमन्त्री वाग्लेले बताए।

    दोस्रो प्याकेज शिथिल बनेको पुँजीबजारलाई सम्बोधन गर्न केन्द्रित हुनेछ। पुँजीबजारमा देखिएको समस्या समाधानका लागि एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

    त्यस्तै, तेस्रो प्याकेज निजी क्षेत्रको प्रवर्द्धन तथा पुनरुत्थानमा केन्द्रित हुनेछ। निजी क्षेत्रको लगानी र व्यवसायिक गतिविधि बढाउन सरकारले छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी गरेको अर्थमन्त्री वाग्लेले बताए।

    चौथो प्याकेज भने नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट हटाउने प्रयासमा केन्द्रित हुनेछ। यसका लागि सरकारले आवश्यक सुधारलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए।

    पाँचौँ प्याकेज भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना तथा क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित हुनेछ। पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन अन्तर्राष्ट्रिय फण्ड परिचालनको काम अघि बढिरहेको अर्थमन्त्री वाग्लेले बताए।

    “अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौँ,” उनले भने।

    अर्थमन्त्री वाग्लेका अनुसार सरकारले तत्काल राहत र पुनःस्थापनासँगै दीर्घकालीन आर्थिक सुधारका विषयलाई समेत एउटै योजनामा जोडेर अघि बढाउन खोजेको छ। पुँजीबजारमा सुधार, निजी क्षेत्रको मनोबल बढाउने तथा अन्तर्राष्ट्रिय स्रोत परिचालनमार्फत अर्थतन्त्रमा लगानी र आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भने भोटेकोशी बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले तत्काल विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए।

    उनले निजी क्षेत्रलाई राहत र पुनरुत्थानको वातावरण बनाउन सके मात्रै बाढीपछिको आर्थिक गतिविधि सामान्य अवस्थामा फर्काउन सकिने बताए।




    images
    images

    Logo