मुस्ताङ, २८ भदौः रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको वैकल्पिक व्यापारिक मार्ग बनेको मुस्ताङको कोरलानाकाबाट मालवस्तुको आयात ह्वात्तै बढेको छ । यसको प्रत्यक्ष प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा देखिएको छ ।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको ठूलो हिस्सा कोरलानाकातर्फ मोडिएको हो । तातोपानी नाका पनि बन्द रहेकाले कोरलानाकाबाट हुने आयात पछिल्ला दिनमा झनै बढेको भन्सार कार्यालयले जनाएको छ ।
मुस्ताङ भन्सार प्रमुख बिदुर चुडालका अनुसार भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसत रु ३० करोड हाराहारी राजस्व सङ्कलन भइरहेको छ । शुक्रबार मात्रै कार्यालयले रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ ।
त्यस दिन ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भएको थियो ।
भन्सार प्रमुख चुडालका अनुसार रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ इभी को भन्सार जाँचपास भइसकेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट मात्रै रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ ।
जबकि भदौ ९ गतेसम्म कोरलानाका हुँदै १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्रै नेपाल भित्रिएका थिए ।
कोरलानाका बन्यो वैकल्पिक व्यापारिक मार्ग
यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला रहने कोरलानाकालाई नेपाल सरकारले गत वर्षदेखि वैकल्पिक व्यापारिक नाकाका रूपमा प्रयोगमा ल्याएको हो ।
तातोपानी र रसुवागढी नाकामा बाढी, पहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारीका लागि खुला गरेको थियो ।
त्यसयता कोरलानाकाबाट हुने व्यापार निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार कार्यालयले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।
गत आर्थिक वर्षमा कोरलानाका हुँदै रु १४ अर्ब ४१ करोड बराबरको मालवस्तु पैठारी भएको थियो भने रु २० करोड ५० लाख बराबरको वस्तु निकासी भएको थियो ।
सोही अवधिमा कोरलानाका हुँदै तीन हजार २२३ विद्युतीय सवारीसाधन र एक हजार ८७३ कन्टेनर नेपाल भित्रिएका थिए ।
रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि अहिले कोरलानाका चीनसँगको व्यापारका लागि थप महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो राजस्व सङ्कलन र मालवस्तु तथा इभीको आवागमनले पनि यसको व्यापारिक सम्भावना झनै बढेको देखाएको छ ।



