images
images

बाढी-पहिरोका कारण कहाँ-कहाँ अवरुद्ध छन् सडक ?


  • 76
    SHARES
  • २०८३ भाद्र ३१ गते बुधबार

    बाढी-पहिरोका कारण कहाँ-कहाँ अवरुद्ध छन् सडक ?

    काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी तथा निश्चित समयमा मात्र सवारी सञ्चालन भइरहेको छ।

    नेपाल प्रहरीले भदौ ३१ गते बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको हो।

    बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा भदौ १६ गतेदेखि सवारी सञ्चालनका लागि विशेष व्यवस्था लागू गरिएको छ। अर्को सूचना नभएसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिइनेछ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरी अन्य सवारी साधन सञ्चालन गरिने जनाइएको छ।

    रसुवाका मुख्य राजमार्गहरू भने भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

    नुवाकोटको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा सवारी चलाउन पाइने छैन।

    नुवाकोटकै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

    यस्तै, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प रहेको छ। सोही राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजार क्षेत्रमा पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। ज्वाङखोलामा भदौ १६ गतेदेखि र शीतलबजारमा भदौ २६ गतेदेखि एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेको छ। मर्मतका क्रममा सवारीको चाप हेरेर एकतर्फी रूपमा यातायात सञ्चालन गराइएको छ।

    यस्तै, कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

    812315058_1082090621220692_9004274814854202045_n


    images
    images

    Logo