images
images

भोटेकोशी बाढी : १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना अझै सम्पर्कविहीन


  • 85
    SHARES
  • २०८३ भाद्र ३० गते मंगलबार

    भोटेकोशी बाढी : १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना अझै सम्पर्कविहीन

    काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन हप्ता पुग्दा अहिलेसम्म १ हजार ३९५ जनाको शव भेटिएको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भेटिएका शवमध्ये १०४ जनाको सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ ।

    सबैभन्दा धेरै चितवनमा ३६४ वटा शव भेटिएका छन् । त्यस्तै, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ वटा शव भेटिएका छन् । उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा नागरिकलाई राखिएको छ । तीमध्ये नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् ।

    यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकोमा २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

    बाढीपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकायले सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम जारी राखेका छन् ।

    बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा ७ खर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।


    images
    images

    Logo