images
images

पक्की पुल बगाएपछि फड्के र तुइनले जोडियो रसुवा–नुवाकोट आवागमन


  • 97
    SHARES
  • २०८३ भाद्र २९ गते सोमबार

    पक्की पुल बगाएपछि फड्के र तुइनले जोडियो रसुवा–नुवाकोट आवागमन

    रसुवा, २९ भदौः बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरेर पैदल आवागमन सञ्चालनमा ल्याइएको छ ।

    फलाखु खोलाको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएपछि लामो समयदेखि स्थानीयको आवतजावत प्रभावित भएको थियो । तत्कालको समस्या समाधान गर्न बेत्रावतीमा बाँस तथा काठको फड्के र स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको हो ।

    सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार पहिलो चरणमा पैदल यात्रुको आवागमन सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको हो । स्याफ्रुबेँसीमा तुइन जडान भइसके पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको छ । एक–दुई दिनभित्र तुइन पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

    बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्मको पैदल आवागमन सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताए ।

    समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले सहयोग गरेका थिए ।

    त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए ।

    तुइन बनेपछि उत्तरी रसुवाका बासिन्दालाई राहत

    स्याफ्रुबेँसीमा तुइन निर्माण भएपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । यसअघि भोटेकोशी नदीमाथिको पुल बगाएपछि ती क्षेत्रका बासिन्दाले आवतजावतमा ठूलो समस्या भोग्दै आएका थिए ।

    त्यस्तै, बेत्रावतीको फड्के बनेपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि आवागमनमा राहत पुगेको छ ।

    अस्थायी फड्के र तुइनले तत्कालको समस्या समाधान गरे पनि स्थानीयले भने दीर्घकालीन समाधानका लागि बेलिब्रिज निर्माण गर्न माग गरेका छन् । बाढीले भत्काएका सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिँदै छिटो बेलिब्रिज निर्माण गर्न स्थानीयले माग गरेका छन् ।




    images
    images

    Logo