images
images

तीजको शुभकामना कसले कसरी दिए ? कसैले संस्कृति सम्झिए, कसैले समानता र महिला अधिकार


  • 72
    SHARES
  • २०८३ भाद्र २९ गते सोमबार

    तीजको शुभकामना कसले कसरी दिए ? कसैले संस्कृति सम्झिए, कसैले समानता र महिला अधिकार

    काठमाडौँ, २९ भदौः हरितालिका तीजका अवसरमा प्रधानमन्त्री, प्रदेश सरकार प्रमुख तथा राजनीतिक दलका नेताले शुभकामना दिँदै तीजको सांस्कृतिक महत्वसँगै महिला अधिकार, समानता, सामाजिक न्याय र रुपान्तरणका विषय उठाएका छन्।

    प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत संक्षिप्त शुभकामना दिँदै “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना” भनेका छन्।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भने तीजलाई नेपाली महिलाको भावना र आस्थाको धरोहरका रूपमा व्याख्या गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गरेका छन्।

    उनले चाडपर्व उत्सव मनाउने अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा विकास भएको बताएका छन्। उनका अनुसार चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भाव बलियो बनाउँदै आएका छन्।

    थापाले हरितालिकाले नेपालीको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीलाई शुभकामना दिएका छन्।

    नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले तीजलाई मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा चित्रण गरेका छन्।

    उनले तीजले आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको बताएका छन्। समयसँगै महिलाको भूमिका घरपरिवारमा मात्र सीमित नरहेको उल्लेख गर्दै आङदेम्बेले राष्ट्र निर्माणदेखि राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि र सामाजिक रूपान्तरणसम्म महिलाको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

    उनले तीजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्याय अन्त्य गरी समान अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा दायित्व रहेको उनको भनाइ छ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने तीजलाई नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकका रूपमा प्रस्तुत गरेका छन्।

    तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताएका छन्। तीजमार्फत महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तीकरण र सामाजिक रुपान्तरणका विषयमा जागरण फैलिँदै गएको उनको भनाइ छ।

    आचार्यले परिवार, समाज र राष्ट्र निर्माणमा महिलाको योगदान अतुलनीय रहेको उल्लेख गर्दै महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, अन्याय र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

    उनले तीजका माध्यमबाट समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक चेतना अभिवृद्धि गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरेका छन्। साथै तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडकभडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न आग्रह गरेका छन्।




    images
    images

    Logo