images
images

हरितालिकामा पशुपतिमा बिहानैदेखि व्रतालुको घुइँचो, चारै ढोका खुला


  • 115
    SHARES
  • २०८३ भाद्र २९ गते सोमबार

    हरितालिकामा पशुपतिमा बिहानैदेखि व्रतालुको घुइँचो, चारै ढोका खुला

    काठमाडौँ, २९ भदौः हरितालिका पर्वका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने महिला व्रतालुको बिहानैदेखि पशुपति क्षेत्रमा घुइँचो लागेको छ । भदौरे झरीबीच पनि व्रतालु महिला धार्मिक आस्थासहित लाममा बसेर पशुपतिनाथको दर्शन गरिरहेका छन् ।

    व्रतालुको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएका छन् । दर्शनार्थीलाई व्यवस्थित रूपमा मन्दिर प्रवेश गराउन चारवटा छुट्टाछुट्टै दर्शन मार्ग सञ्चालनमा ल्याइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार मित्रपार्कतर्फबाट आउने दर्शनार्थीका लागि मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ। यो मार्गबाट आउने व्रतालुले पशुपतिनाथको उत्तरतर्फको ¥याम्पबाट दर्शन गरी पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था छ ।

    जयवागेश्वरीतर्फबाट आउने दर्शनार्थीका लागि जयवागेश्वरी, दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार हुँदै महास्नानघरअघिको आकाशे पुलबाट भुवनेश्वरी र नासलचोक पुग्ने मार्ग तय गरिएको छ । त्यसपछि शङ्कराचार्य मठअघिको आकाशे पुल हुँदै प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइनमा प्रवेश गराई पशुपतिनाथको पश्चिमतर्फ रहेको काठको रयाम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

    सिनामङ्गल र विमानस्थलतर्फबाट आउने दर्शनार्थीका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । राममन्दिर, वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पुगेर पूर्वढोकामा राखिएको रयाम्पबाट पशुपतिनाथको पूर्वी मुहारको दर्शन गर्न सकिने व्यवस्था छ । दर्शनपछि सोही ढोकाबाट बाहिरिने प्रबन्ध मिलाइएको छ ।

    त्यस्तै पिङ्गलास्थानतर्फबाट आउने व्रतालुका लागि पिङ्गलास्थानको ढोकाबाट प्रवेश गरी चार शिवालय–पञ्चदेवल वृद्धाश्रमको दक्षिणतर्फ रहेको ठूलो ढोकाअघि बनाइएको अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । यो मार्गबाट आउने दर्शनार्थीले चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै पशुपतिनाथको दक्षिणी मुहारको दर्शन गर्न सक्नेछन्। दर्शनपछि उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिको मार्ग हुँदै बाहिरिने व्यवस्था गरिएको छ ।

    बिहानको समयमा पशुपतिनाथको दर्शन गर्न व्रतालुलाई लाममा लामो समय कुर्नुपर्ने अवस्था देखिएको छैन। कोषका अनुसार अहिले लाममा बसेको करिब आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था छ ।

    व्रतालुको सुरक्षा र व्यवस्थापनका लागि पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । धार्मिक तथा सामाजिक गरी २४ वटा संस्थाका ८५५ जना स्वयंसेवकसमेत व्यवस्थापनमा खटिएका छन् ।

    दर्शनार्थीका लागि विभिन्न स्थानमा चन्दन वितरणको व्यवस्था पनि गरिएको छ । सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरण भइरहेको छ ।

    हरितालिका पर्वका अवसरमा पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर र त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा पनि व्रतालु महिलाको घुइँचो लागेको छ ।

    हरितालिका पर्वमा विशेषगरी महिलाले निराहार वा फलाहार व्रत बसेर शिव–पार्वतीको पूजा तथा दर्शन गर्ने धार्मिक परम्परा रहँदै आएको छ । यही आस्थाका साथ बिहानैदेखि राजधानीका शिवालयहरूमा व्रतालु महिलाको चहलपहल बढेको छ ।




    images
    images

    Logo