काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छ ।
बागमती प्रदेश
काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी आवागमन रोकिएको छ ।
रसुवामा मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नुवाकोटमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सोही गाउँपालिकाको वडा नं. १० ज्वालामुखी तथा पृथ्वी राजमार्गको शीतलबजार क्षेत्रमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मत भइरहेकाले सवारीको चापअनुसार एकतर्फी आवागमन भइरहेको छ ।
गण्डकी प्रदेश
मनाङको नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा साना सवारी साधन मात्र सञ्चालनमा छन् ।
कर्णाली प्रदेश
हुम्लाको सर्केगाड गाउँपालिका–६ स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रभावित सडकखण्डमा यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन आवश्यक छ ।




