काठमाडौं । बढ्दो तापक्रमका कारण तीव्र गतिमा पग्लिरहेको हिमनदी जोगाउन स्विट्जरल्यान्डमा वैज्ञानिकहरूले अनौठो प्रयोग थालेका छन् । पश्चिमी स्विट्जरल्यान्डको त्सानफ्लूरोन हिमनदीमा वैज्ञानिकहरूले भेडाको ऊनबाट बनेका दुईवटा कम्बल ओढाएर हिउँ पग्लिनबाट रोक्ने उपाय परीक्षण गरिरहेका छन् ।
‘किप इट वुल’ परियोजनाअन्तर्गत भइरहेको प्रयोगमार्फत ऊनबाट बनेका कम्बलले तीव्र घाम र गर्मीबाट हिमनदीको हिउँलाई कति जोगाउन सक्छ भन्ने अध्ययन गरिँदैछ । परियोजना समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन् ।
हिमनदीको हिउँलाई सूर्यको किरण र तापबाट जोगाउन यसअघि नै विशेष प्रकारका ‘सिन्थेटिक’ कपडा प्रयोग हुँदै आएका छन् । ती कपडाले सूर्यको किरण परावर्तन गर्ने भएकाले हिउँमा पुग्ने ताप कम गर्न मद्दत गर्छन् ।
वैज्ञानिकहरूले नयाँ प्रयोगमार्फत स्विट्जरल्यान्डमा खेर गइरहेको भेडाको ऊनलाई उपयोग गर्ने सम्भावनासमेत खोजिरहेका छन् । ऊनका कम्बलले हिमनदीको पग्लिने दर घटाउन सकेमा वातावरण संरक्षणसँगै स्थानीय स्रोतको उपयोगमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर, यस्ता उपायले हिमनदीलाई केही समयसम्म जोगाउन सके पनि बढ्दो विश्व तापक्रम नियन्त्रण गर्नु नै हिमनदी संरक्षणको दीर्घकालीन र दिगो उपाय रहेको वैज्ञानिकहरूको निष्कर्ष छ।



