काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार बुधबार बिहान ८ बजेसम्म रसुवामा १९३, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो । यी जिल्लामा मात्रै १ हजार ४०१ जनाको शव भेटिएको छ । थप दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३५ शव व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतकका आफन्त तथा सम्बन्धित व्यक्तिबाट गरी कुल ३ हजार १९० वटा डीएनए नमुना संकलन गरिएको छ । जसमा मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ वटा नमुना छन् ।
पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ ।
यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ८४ जनालाई राखिएको प्रहरीले जनाएको छ ।



