images
images

औजारदेखि इञ्जिनसम्म पूजा, यसकारण विश्वकर्मा बाबाको आराधना


  • 76
    SHARES
  • २०८३ आश्विन १ गते बिहीबार

    औजारदेखि इञ्जिनसम्म पूजा, यसकारण विश्वकर्मा बाबाको आराधना

    काठमाडौँ, १ असोजः निर्माण, सीप र प्रविधिका प्रतीकका रूपमा मानिने भगवान् विश्वकर्माको आज विधिपूर्वक पूजाआराधना गरिँदैछ। आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा नेपालमा कालिगढ, श्रमिक तथा विभिन्न कलकारखाना र उद्योगमा काम गर्नेहरूका लागि विशेष महत्वको पर्वका रूपमा स्थापित छ।

    आज देशभरका कलकारखाना तथा उद्योगमा विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजाआराधना गरिन्छ। आफ्ना दैनिक काममा प्रयोग हुने औजार, उपकरण, मेसिन तथा इञ्जिन जडित सवारीसाधनसमेत पूजा गर्ने परम्परा छ। यसरी पूजा गर्दा औजार तथा उपकरण लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र कुशलतापूर्वक काम गर्न सकिने धार्मिक विश्वास छ।

    विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाइन्छ। कतिपय स्थानमा बालुवा तथा अन्य सामग्रीबाट विश्वकर्माको मूर्ति निर्माण गरी पूजा गरेपछि शुद्धस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ।

    धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मा निर्माण तथा वास्तुकलाका विशिष्ट ज्ञाता हुनुहुन्छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेकाले उहाँलाई सफल वास्तुविद्का रूपमा मान्न थालिएको प्रा. तोयराज नेपाल बताउँछन् । 

    प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिएको पाइन्छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ अहिले भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।

    विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा पनि मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ विश्वकर्माले नै रचना गर्नुभएको विश्वास रहेको वास्तुशास्त्री शिव पोखरेल बताउँछन् । 

    यही धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा नेपालका कालिगढले हरेक वर्ष विश्वकर्मा बाबाको पूजा गरी सीप, श्रम र निर्माण कलाप्रति सम्मान प्रकट गर्छन्। विश्वकर्माको आराधना गरेमा आफूमा पनि उहाँका गुण प्राप्त हुने विश्वासका कारण औजारदेखि आधुनिक मेसिन र सवारीसाधनसम्म पूजा गर्ने चलन विस्तार भएको हो।

    विश्वकर्मा पूजा केवल धार्मिक अनुष्ठानमा सीमित नभई श्रम, सीप, प्रविधि र निर्माणकलाप्रतिको सम्मानको पर्वका रूपमा समेत लिइन्छ। मानिसको दैनिक जीवनलाई सहज बनाउने औजारदेखि ठूला मेसिन र संरचना निर्माणमा संलग्न श्रमिक तथा कालिगढका लागि यो दिन आफ्नो सीप र कर्मप्रति गौरव गर्ने अवसरसमेत हो।

    यसै दिन वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तुविद्ले ‘वास्तु दिवस’ पनि मनाउने गर्छन्। नेपालमा पछिल्लो समय वास्तुविद्याप्रतिको चासो र यसको पुनर्जागरण बढ्दै गएको छ।

    चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसँग सम्बन्धित विषय समेटिएको मानिन्छ। लोपोन्मुख अवस्थामा पुगेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माणप्रति समेत पछिल्लो समय चासो बढ्न थालेको छ। यससँगै नेपालमा वास्तुविद्याको महत्व पनि पुनः बढ्दै गएको छ।

    यसरी विश्वकर्मा पूजा देवताको आराधना मात्र नभई श्रमको सम्मान, सीपको कदर र निर्माण तथा प्रविधिप्रतिको आस्थालाई जोड्ने पर्वका रूपमा मनाइँदै आएको छ।




    images
    images

    Logo