मकवानपुर, ३१ भदौ: बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने भएको छ।
यसका लागि प्रदेश सरकारले काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालसँग ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता गरेको छ। हेटौँडामा आज आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ र सम्बन्धित अस्पतालका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार कार्यक्रमका लागि सूचीकृत अस्पतालबाट जटिल रोगबाट पीडित प्रदेशवासीले सहुलियतपूर्ण उपचार सेवा पाउनेछन्। उपचार खर्चकै कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था कम गर्न कार्यक्रम प्रभावकारी हुने मन्त्री तामाङले बताए।
“उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने आशा राखेका छौँ,” उनले भने।
बागमती प्रदेशमा ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत हाल १७ वटा अस्पताल सूचीकृत छन्। प्रदेश सरकारले ती अस्पतालमार्फत लक्षित बिरामीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।



