images
images

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात खुल्ने


  • 62
    SHARES
  • २०८३ भाद्र ३१ गते बुधबार

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात खुल्ने

    चितवन, ३१ भदौः त्रिशूली नदीको कटानले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने भएको छ।

    पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार बिहीबार बिहान ६ बजेदेखि कृष्णभिरमा पूर्णरूपमा यातायात सञ्चालन गरिनेछ। नदी कटानका कारण करिब १०० मिटर सडक क्षतिग्रस्त भएपछि अवरुद्ध राजमार्गमा नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनको तयारी गरिएको हो।

    गत भदौ १४ गते सडकको तल्लो भाग त्रिशूली नदीले बगाएपछि कृष्णभिरमा राजमार्ग भासिएको थियो। त्यसपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो।

    नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ। आज साँझसम्म ग्राबेल र नाली निर्माणलगायतका काम सकिने उनले बताए।

    “साँझसम्ममा सबै काम सक्छौँ,” ढकालले भने। उनका अनुसार बेनिघाट रोराङ गाउँपालिकाले सडकमा बत्ती जडान गरिरहेको छ। बत्ती जडान भएपछि रातिको समयमा समेत सवारी सञ्चालन गर्न सहज हुनेछ।

    धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले काम साँझसम्म सम्पन्न भए रोकिएका सवारीसाधनलाई आजै गन्तव्यतर्फ पठाउने बताए। उनका अनुसार बिहीबार बिहानदेखि भने कृष्णभिरमा दुवैतर्फबाट नियमित रूपमा सवारी सञ्चालन हुनेछ।

    कृष्णभिरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएका सवारीसाधनसमेत गन्तव्यतर्फ पठाउन सहज हुनेछ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभिरमा यातायात सञ्चालन भएपछि तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोक्न सकिनेछ।

    कृष्णभिरको सडक लामो समयदेखि अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी आउजाउ गर्न नसक्दा आपूर्ति व्यवस्थासमेत प्रभावित भएको छ। विशेषगरी एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको छ।




    images
    images

    Logo