काठमाडौँ, ३१ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा हुन लागेको भ्रमणलाई मन्त्रिपरिषद्ले बुधबार स्वीकृति दिएको हो।
छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका वाग्लेले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्नेछन्।
बिहीबार साँझ सीतारमणसँग भेट गर्ने कार्यक्रम छ भने शुक्रबार जयशङ्करसँग भेटवार्ता हुनेछ। दुई देशबीचको आर्थिक सहकार्य, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक–कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ।
वाग्लेले शुक्रबार उच्चस्तरीय कूटनीतिक संवाद तथा भारत व्यापार सम्वर्द्धन सङ्गठनले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। शनिबार भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा पनि प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनेछन्।
तीनदिने भ्रमण पूरा गरी वाग्ले शनिबार साँझ नेपाल फर्कने कार्यक्रम छ।



