काठमाडौँ, १ असोज: अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली गएका हुन्।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण, नेपाल–भारत आर्थिक सहकार्य तथा दुई देशबीचका राजनीतिक र कूटनीतिक विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमणको पहिलो दिन आज साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही दिन साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी हुनेछन्।
शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सम्बन्ध विस्तार, लगानी तथा पुनर्निर्माणमा सहकार्यका साथै द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुने बताइएको छ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ।
भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।



