काठमाडौँ, १ असोज । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा बङ्लादेशसँग पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ ‘क्यान’ का अनुसार नेपाल र बङ्लादेशबीच तीन खेलको द्विपक्षीय टी–२० शृङ्खला आगामी चैत १२, १४ र १६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ। क्यानका सचिव पारस खड्काले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा शृङ्खला समर्पित गरिने जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत उहाँले आगामी मार्चमा नेपाल र बङ्लादेशबीच हुने क्रिकेट शृङ्खला नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने बताएका छन् ।
“आगामी मार्चमा हुने नेपाल र बङ्गलादेशबीचको क्रिकेट शृङ्खला नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने जानकारी गराउन पाउँदा खुसी छौँ”, उनले लेखेका छन् । “दुई छिमेकी राष्ट्र नेपाल र बङ्लादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहनुका साथै क्रिकेटप्रति पनि समान प्रेम छ”, उनले भनेका छन् ।
सचिव खड्काले नेपालसँग शृङ्खला खेल्न तयार भएकोमा बङ्लादेश क्रिकेट बोर्डप्रति आभार व्यक्त गरेका छन् ।
नेपाल र बङ्लादेशबीचको यो शृङ्खला नेपाली क्रिकेट समर्थकका लागि विशेष रहने अपेक्षा गरिएको छ। घरेलु मैदानमा पहिलोपटक बङ्लादेशसँग टी–२० अन्तरर्राष्ट्रिय शृङ्खला खेल्ने अवसरसँगै यो शृङ्खला विपद्मा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित हुने भएकाले यसको भावनात्मक महत्वसमेत रहनेछ।



