चितवन, १ असोजः बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सडक भासिएपछि रोकिएको यातायात नयाँ ट्र्याक निर्माण गरेर पुनः सञ्चालनमा ल्याइएको हो।
गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडकको तल्लो भाग बगाएपछि करिब १०० मिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। सडक नै भासिएपछि पृथ्वी राजमार्ग हुँदै हुने आवागमन प्रभावित बनेको थियो।
सडक पूर्णरूपमा अवरुद्ध भएपछि गत भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक नयाँ ट्र्याक निर्माण थालिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि आज बिहानदेखि नियमितरूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।
नदी कटानबाट सडकको ठूलो हिस्सा क्षतिग्रस्त भएपछि पूर्वाधार विकास मन्त्रालयले जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरेर नयाँ ट्र्याक निर्माण र सडक पुनःस्थापनाको काम अघि बढाएको थियो। छोटो समयमै वैकल्पिक मार्ग निर्माण गरिएपछि लामो समयदेखि रोकिएको यातायात पुनः सञ्चालन गर्न सम्भव भएको हो।
सडक सञ्चालन हुनुअघि नै दुई दिनदेखि कृष्णभिरमा रोकिएका सवारीसाधनलाई साँझतिर क्रमशः पार गराइएको थियो। आजदेखि भने सडकमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।
कृष्णभिरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सवारी आवागमन पनि आजदेखि सञ्चालनमा ल्याइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभिरको समस्या तत्कालका लागि समाधान भएकाले तुइन खोलामा सवारी रोकेर भइरहेको पहिरो रोकथामको काम पनि रोकिएको छ।
कृष्णभिरमा सडक अवरुद्ध हुँदा सबैभन्दा ठूलो असर संघीय राजधानी आवतजावत गर्ने ठूला सवारीसाधनमा परेको थियो। लामो समयसम्म ढुवानी प्रभावित हुँदा काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभावसमेत देखिएको थियो।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते आएको थप बाढीले कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएको थियो। अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभिरमा सडकको ठूलो हिस्सा नै बगाएपछि लामो समयसम्म समस्या कायम रहेको थियो।
पृथ्वी राजमार्गको यो खण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। कृष्णभिरमा दुईतर्फी यातायात सञ्चालनमा आएसँगै राजधानी र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।



