images
images

क्यानाडालाई इयुको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव


  • 58
    SHARES
  • २०८३ आश्विन १ गते बिहीबार

    क्यानाडालाई इयुको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव

    व्यापारदेखि रक्षा र प्रविधिसम्म सहकार्य विस्तार गर्ने तयारी, ट्रम्पद्वारा ‘शत्रुतापूर्ण कदम’को चेतावनी

    युरोपेली सङ्घ ‘इयु’ ले क्यानाडासँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रस्ताव अघि सारेको छ । इयुले आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै क्यानाडालाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको हो ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार स्ट्रासबर्गस्थित युरोपेली संसद्मा आफ्नो वार्षिक सम्बोधनका क्रममा विद्यमान व्यापार सम्झौताभन्दा अघि बढेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्ने प्रस्ताव गरेकी हुन् । उनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग ‘भविष्यका लागि गठबन्धन’ निर्माण गर्न आह्वान गर्दै दुई पक्षबीचको सम्बन्धलाई सम्भव भएसम्म उच्च तहमा पुर्‍याउनुपर्ने बताइन् । 

    उनका अनुसार क्यानाडा र युरोप लोकतन्त्र तथा समान मूल्यमा विश्वास गर्ने भएकाले नयाँ साझेदारीमार्फत आपसी सम्बन्ध थप सुदृढ गर्न सकिन्छ । प्रस्तावित साझेदारी विद्यमान व्यापक आर्थिक तथा व्यापार सम्झौता ‘सिइटिए’ मा आधारित हुनेछ ।

    नयाँ सहकार्यअन्तर्गत रक्षा उत्पादन, प्रविधि, आर्कटिक क्षेत्र, ऊर्जा, महत्त्वपूर्ण खनिज, कृत्रिम बौद्धिकता, क्वान्टम कम्प्युटिङ, साइबर सुरक्षा तथा आर्थिक सुरक्षाजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने योजना छ ।

    “यो साझेदारी कसैको विरुद्धमा होइन, हाम्रो साझा शक्तिका लागि हो”, भोन डेर लेयनले भनिन् । 

    ट्रम्पको आपत्ति

    इयुको प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने असन्तुष्टि जनाएका छन् ।  उनले क्यानाडालाई इयुको एसोसिएट सदस्य बनाउने प्रयासलाई ‘शत्रुतापूर्ण कदम’का रूपमा लिन सकिने चेतावनी दिँदै त्यसको प्रतिक्रियास्वरूप युरोपेली सामानमा थप भारी शुल्क लगाउन सकिने बताए । 

    ट्रम्पका पछिल्ला शुल्क नीति तथा क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा व्यक्त हुँदै आएका धारणाले दुई उत्तर अमेरिकी मुलुकबीचको सम्बन्धमा तनाव बढेको छ । यस्तो अवस्थामा क्यानाडाले अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउँदै युरोपसँगको सम्बन्ध विस्तार गर्न खोजिरहेको छ ।

    क्यानाडाका प्रधानमन्त्री कार्नीले पनि इयुसँग थप निकट सम्बन्ध निर्माणमा जोड दिँदै आएका छन् ।  क्यानाडाका लागि इयुका नियुक्त राजदूत जोनाथन विल्किन्सनका अनुसार क्यानाडाले इयुको पूर्ण सदस्यता खोजेको होइन, बरु आफ्नो सार्वभौमसत्ता कायम राख्दै सङ्घसँग सकेसम्म निकट सम्बन्ध बनाउन चाहेको छ ।

    ‘एसोसिएट सदस्य’को स्वरूप अझै स्पष्ट छैन

    क्यानाडालाई प्रस्ताव गरिएको ‘एसोसिएट सदस्य’को स्वरूप, अधिकार र दायित्व भने अझै निश्चित भइसकेको छैन । आगामी अक्टोबरमा हुने क्यानाडा–इयु शिखर सम्मेलनमा यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।

    एसोसिएट सदस्यताको अवधारणा यसअघि युक्रेन र ब्रेक्जिटपछि बेलायतका सन्दर्भमा पनि उठेको थियो । तर अहिलेसम्म कुनै पनि देशले इयुको यस्तो हैसियत प्राप्त गरेको छैन ।

    क्यानाडा यसै वर्ष इयुको करिब एक खर्ब ५० अर्ब युरोको रक्षा कार्यक्रम ‘सेफ’ मा सहभागी हुने पहिलो गैरइयु देश बनेको छ । यसबाट रक्षा उद्योग, संयुक्त खरिद तथा सुरक्षा सहकार्य विस्तारका लागि दुई पक्षबीच थप आधार तयार भएको छ ।

    प्रधानमन्त्री कार्नीले आर्थिक एकीकरणलाई केही देशले आफ्नो हितमा प्रयोग गर्न सक्ने अवस्था रहेकाले मध्यम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

    यसैबीच, ट्रम्पले बुधबार अमेरिकी सरकारको सङ्घीय खरिद प्रणालीमा क्यानाडाली सामानको प्रयोग सीमित गर्न निर्देशन दिएका छन् । 

    इयुको प्रस्ताव कार्यान्वयन भएमा क्यानाडा र युरोपबीच व्यापार र रक्षासँगै प्रविधि, ऊर्जा, महत्त्वपूर्ण खनिज तथा आर्थिक सुरक्षाका क्षेत्रमा समेत सहकार्यको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।




    images
    images

    Logo