images
images

रसुवा बाढी : १ हजार ३४४ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता


  • 74
    SHARES
  • २०८३ भाद्र २० गते शनिबार

    रसुवा बाढी : १ हजार ३४४ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका तथा प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी १ हजार ३४४ जनाको शव फेला परेको छ भने ४ हजार ८९८ जना अझै बेपत्ता छन् ।

    फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । यस्तै, ५०१ वटा शवका आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ। ती शव तथा अंगको पहिचान हुन बाँकी छ ।

    बेपत्ता हुनेमध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । बेपत्ता नेपाली नागरिकमध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला छन् । यसबाहेक १ हजार ३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीको विवरणमा उल्लेख छ ।

    ८ हजार ६३१ जनाको जीवित उद्धार

    बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेका छन् ।

    बाढीका कारण विस्थापित भएका ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरूको व्यवस्थापन तथा आवश्यक राहत उपलब्ध गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    खोज तथा उद्धारमा ७ हजारभन्दा बढी प्रहरी परिचालन

    बेपत्ता तथा प्रभावितहरूको खोजी र उद्धारका लागि ७ हजार २१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

    उद्धार तथा खोजी कार्यमा खटिएका प्रहरीमध्ये ६५ जना बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

    १ हजार ३० शव गाडेर व्यवस्थापन

    फेला परेका शवमध्ये हालसम्म १ हजार ३० वटा शव गाडेर व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका शवको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनलाई तीव्रता दिएको छ ।

    हालसम्म १ हजार २६० मृतक र ९७२ जना मृतकका आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा सार्वजनिक गरिएको छ । प्रहरीले आफन्त तथा सम्बन्धित व्यक्तिहरूलाई उक्त विवरणमार्फत पहिचान गर्न सहयोग गर्न आग्रह गरेको छ ।

    बाढीपछि हराइरहेका व्यक्तिको खोजी, शव पहिचान तथा उद्धार कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।


    images
    images

    Logo