images
images

बाढी–पहिरोले यी राजमार्ग ठप्प, कहाँ–कहाँ रोकियो यातायात ?


  • 102
    SHARES
  • २०८३ भाद्र २० गते शनिबार

    बाढी–पहिरोले यी राजमार्ग ठप्प, कहाँ–कहाँ रोकियो यातायात ?

    काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी तथा निश्चित समय तोकेर मात्र सवारी सञ्चालन भइरहेको छ ।

    रसुवा जिल्लाका मुख्य राजमार्गहरू तथा त्रिशूली–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ । सोही राजमार्गको परेवाभीर क्षेत्रमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् ।

    म्याग्दीको बेनी–जोमसोम सडकखण्ड, मुगुको मुगु–गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग तथा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    यसैगरी, रोल्पाको शहीद मार्गअन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो गएपछि सवारी आवागमन ठप्प भएको छ ।

    काठमाडौं–धादिङ जोड्ने सडकअन्तर्गत चन्द्रागिरि–चिसापानी क्षेत्रमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा भने १० टनसम्मका सवारीसाधनलाई निश्चित समय तोकेर मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

    नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ । बाढीका कारण बेत्रावतीस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

    लगातारको वर्षाका कारण सडकमा बाढी, पहिरो तथा कटानको जोखिम रहेकाले यातायात सञ्चालनमा थप समस्या आउन सक्ने प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीले सडकको अवस्था र प्रतिकूल मौसमलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रा गर्नैपर्ने अवस्था भएमा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

    1


    images
    images

    Logo