काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ५५ हजार ७ सय ५७ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिर्जना श्रेष्ठले ३५ हजार ३ सय ७१ मत प्राप्त गरेकी छिन् ।
यस्तै उपप्रमुखमा नेकपा (एमाले) का सुनिता डङ्गोलले ५३ हजार ६ सय ४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार वसन्त बस्नेतले १३२ मतले अगाडि लागेका छन् । बस्नेतले १ हजार ६ सय ५४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एसका उम्मेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले १ हजार ५ सय २२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार भागवत राउतले १ हजार १७ मत पाएका छन् । त्यसैगरि उपमेयर तर्फ नेपाली काँग्रेसकी उम्मेदवार सरिता राईले अग्रता लिएकी छिन् । उनले १ हजार ४ सय ७६ मत पाएकी छिन भने उनका निकटतम प्रतिस्पर्धि एमालेकी महेश्वरी राईले १ हजार १ सय ९४ मत प्राप्त गरेकी छिन् ।
रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार ३ हजार ८ सय ७ मतका साथ अगाडि छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले ३ हजार ४ सय १८ मतका साथ पछ्याइरहेका छन् ।
उपप्रमुखमा कांग्रेसका पुनमकुमारी चौधरीले ५ हजार १ सय ४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले ३ हजार १ सय ६४ मत प्राप्त गरेकी छिन् ।
रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा काँग्रेसका गोपाल राय यादवले ४ हजार १ सय १७ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। एमालेका विजय यादव २ हजार ९ सय २२ मतका साथ पछि परेका छन् । उपप्रमुखमा काँग्रेसका अमवेया खातुनले ४ हजार २ सय ५१ मत र एमालेका कान्ती देवीले ३ हजार २ सय ७० मत प्राप्त गरेका छन् ।
सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली काँग्रेस १ सय ३८ नगरपालिका र १ सय ८८ अध्यक्षसहित ३ सय २६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा काँग्रेस दुई स्थानमा अगाडि छ । एमाले ८१ नगरपालिका र १ सय २३ गाउँपालिकासहित २ सय ४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १ सय २१ स्थानीय तहमा विजयी भएको छ ।



