images
images

प्रदेश सरकारको पक्षमा उभिएपछि जसपाका चार सांसद निष्कासित


  • 86
    SHARES
  • २०८३ भाद्र १९ गते शुक्रबार

    प्रदेश सरकारको पक्षमा उभिएपछि जसपाका चार सांसद निष्कासित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका पाँच जना प्रदेशसभा सदस्यलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशका चार जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

    कारबाहीमा पर्ने लुम्बिनी प्रदेशका सांसदहरूमा सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् । उनीहरूले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा सहभागी भएको भन्दै कारबाही गरिएको जसपा नेपालले जनाएको छ ।

    पार्टीले कारबाहीमा परेका चारै जना सांसदको प्रदेशसभा सदस्य पद रिक्त गराउन सम्बन्धित प्रदेशसभामा छिट्टै पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

    यसैगरी, कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पनि पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको छ । उनको स्पष्टीकरण चित्तबुझ्दो नआए साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने जसपा नेपालको निर्णय छ ।

    बैठकले प्रदेशसभा सदस्यहरूबाहेक गत निर्वाचनमा पार्टीको नीति तथा विधानविपरीत कार्य गरेको आरोप लागेका करिब दुई दर्जन स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई समेत पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

    अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा तथा संरक्षक महन्थ ठाकुरको उपस्थितिमा बसेको बैठकले पार्टीको आन्तरिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको जसपा नेपालले जनाएको छ ।

    पार्टीको निर्णयविपरीत गतिविधि गर्ने जनप्रतिनिधि तथा कार्यकर्तामाथि कारबाही गर्दै जसपा नेपालले पार्टी अनुशासन उल्लंघनमा कडाइ गर्ने संकेत दिएको छ ।


    images
    images

    Logo