काठमाडौं । गृह मन्त्रालयले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार गरिएको सरुवासँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत परिवर्तन भएका छन् ।
मन्त्रालयका अनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । झापाका यसअघिका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, सहसचिव महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगाबहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यसैगरी रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेको समेत जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।
उपसचिव तहमा पनि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । कुलेश्वर अर्याललाई भोजपुर, नवराज बराललाई जाजरकोट, महेशकुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान र गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारी तथा अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।
सरुवा भएका प्रमुख जिल्ला अधिकारी
झापा — श्रवणकुमार पोखरेल
सुर्खेत — महेन्द्रकुमार सापकोटा
बारा — खडानन्द अधिकारी
गोरखा — धर्मेन्द्रकुमार मिश्र
दोलखा — रेखा कँडेल
पर्वत — गंगाबहादुर क्षेत्री
रौतहट — लक्ष्मीप्रसाद पौडेल
भोजपुर — कुलेश्वर अर्याल
जाजरकोट — नवराज बराल
खोटाङ — महेशकुमार गुरुङ
सल्यान — बन्दना केसी
म्याग्दी — गणेश गैरे
डडेल्धुरा — बेदराज फुयाँल




