काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिकामा करिब ४४ सय मत गन्दा काँग्रेस र नेकपा एसका उमेदवारबीच कडा टक्कर देखिएको छ । बुधवार दिउँसो साढे ४ बजेसम्म ४ हजार ३ सय ७५ मत गणना गर्दा नेपाली काँग्रेसका मेयरका उमेदवार वसन्त बस्नेत र उपमेयरकी उमेदवार सरिता राईले अग्रता लिएका हुन् ।
पछिल्लो गणना अनुसार काँग्रेसका बस्नेत ५० मतले र उप मेयरमा कांग्रेसकै राईले १ सय ६७ मतले अग्रता लिएका छन । बस्नेतले १ हजार ४ सय ५० मत पाएका छन् ।
त्यस्तै नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले १ हजार ४ सय मत र नेकपा एमालेका भागवत राउतले ९ सय ९ मत पाएका छन् । उप प्रमुखमा काँग्रेसकी सरिता राईले १ हजार २ सय ९८ मत, एमालेकी महेश्वरी राईले १ हजार ६३ मत र माओवादी केन्द्रकी गीता खड्काले १ हजार ३२ मत ल्याएकी छन् ।
हालसम्म वडा नं. १, वडा नं. २ र वडाको मतगणना जारी छ भने वडा नं. १६ को मतगणना सकिएको छ । सो वडामा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।



