भक्तपुर । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचितलाई निकट भविष्यमा प्रशिक्षण दिने भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो जानकारी दिएका हुन् । थापाले भने, पार्टीबाट निर्वाचितहरूलाई छिट्टै प्रशिक्षण दिदैछौ । त्यसको एक बर्षपछि जन प्रतिनिधिको मुल्यांकन गर्ने भएकाले त्यसै अनुसार काम गर्न थापाले आग्रह गरे ।
महामन्त्री थापाले पाँच बर्ष नेतृत्व गर्ने जिम्मेवारी पाएको नेकपा एमालेले आफ्नो जिम्मेवारी पूरा नगर्दा नेपाली कांग्रेसले नयाँ जिम्मेवारी पाएको बताए । कांग्रेसले सत्ताको नेतृत्व गरेपछि जिम्मेवारी बढेको बताउँदै महामन्त्री थापाले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको लोकप्रिय मत बढेको बताए । मंसिरदेखि फागुन सम्ममा आम निर्वाचन हुने भन्दै थापाले त्यसको तयारीमा आजैदेखि जुट्न आग्रह गरे। निर्वाचित नभएपनि जनताले दिएको मतको सम्मानगर्दै जनताको काममा लाग्नु पर्ने थापाको भनाइ थियोे।
स्थानीय सरकारको मुख्य काम भनेको सेवा दिनु भएको उल्लेख गर्दै थापाले बिदाका दिनमा सेवा हाट वजार सञ्चालन गरेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए। निर्वाचित र पार्टीका पदाधिकारी बीच महिनाको एक पटक बैठक बस्ने व्यवस्था गरे समन्वय राम्रो हुने थापाको भनाई थियो।
नेपाली कांग्रेसका भक्तपुरमा दुई मेयर,१५ वडाध्यक्ष सहित ६५ जना निर्वाचित भएका छन । जसमा चाँगुनारायणका १९, सुर्यविनायकका १८ र मध्यपुर थिमिका २८ जना रहेका छन्।
कार्यक्रममा बोल्दै मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आफु साशक हाईन सेवकका रूपमा काम गर्ने बताउदै जनतामाझ बाचा गरेका कुरा र पार्टीका घोषणापत्र अनुसार काम गर्ने बताए। चाँगुनारायण नगरपालिकाका प्रमुख
जीवन खत्रीले नेपाली कांग्रेसको साख जोगाउदै काम गर्ने बताउँदै अब भाषण होइन, काम गर्ने र देखाउने वेला आएको बताए।
निर्वाचन परिचालन समितिका अध्यक्ष बिजेश अवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति भेषबहादुर थापा, जिल्ला नेता कविर राणा लगायतले मन्तव्य राखेका थिए ।



