काठमाडौं तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका ९ जनाको धरौटी जफत भएको छ । स्थानीय तह निर्वाचनमा कूल खसेको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि प्रमुखका उम्मेदवार बनेका उनीहरुको धरौटी जफत भएको हो ।
व्यास नगरपालिकाको निर्वाचनमा ३० हजार २ सय ४७ मत खसेको थियो । कानुनी प्रावधानअनुसार उक्त सङ्ख्याको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा दुई जनाबाहेक अन्यको धरौटी जफत भएको हो । धरौटी जफत हुनेमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, नेकपा माक्र्सवादी लेनिनवादी र दुई स्वतन्त्र उम्मेदवार छन् ।
व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २ मत प्राप्त गरे । उनीहरु दुई जनाको मात्रै धरौटी सुरक्षित भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
नगरप्रमुखमा माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपानेले ६ सय ५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दौलत अधिकारीले ५ सय ४६, राष्ट्रिय जनमुक्ति पार्टीका मीना थापाले १ सय ६५, विवेकशील साझा पार्टीका रमेशप्रसाद आचार्यले १ सय ३९, मङ्गोल नेशनल अर्गनाइजेशनका अनिता थापा मगरले ५३, मौलिक जरोकिलो पार्टीका रमेश पौडेलले ४२, नेकपा (माले)का अञ्जना थापाले २९, स्वतन्त्र उम्मेदवार पार्वती कार्कीले ४१ र धनबहादुर परियारले १७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखतर्फ आठ जनामध्ये ६ जनाको धरौटी जफत भएको छ । व्यास नगरपालिकाको उपप्रमुखमा कांग्रेसका इन्दिरा दरै १३ हजार ४ सय ९४ मत प्राप्त गरी विजयीभएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले १० हजार दुई मत प्राप्त गरे । उनीहरु दुई जनाको धरौटी सुरक्षित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी चन्द्रावती पन्थले ७ सय १९, नेकपा (एकीकृत समाजवादी)की मनुमाया श्रेष्ठले ७ सय ६, माओवादी केन्द्रकी देवा सुर्खालीले ६ सय ८२, राष्ट्रिय जनमुक्ति पार्टीका बहादुरसिं थापाले १ सय १६, विवेकशील साझाकी हसिना बानुले ८४ र मङ्गोल नेशनल अर्गनाइजेशनकी श्रीमाया थापाले ५४ मत प्राप्त गरेका छन् । १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको धरौटी जफत भएको छ ।



