काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन सरेको छ । युनियनको आज बसेको सचिवालयको आकस्मिक बैठकले आगामी भदौ २१ र २२ गते बागमती प्रदेशको राजधानी हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
युनियनले यसअघि जेठ १३ र १४ गते हेटौँडामा महाधिवेशन गर्ने निर्णय गरे पनि काँग्रेसले वैशाख २१ गते १ विज्ञप्ति जारी गरी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्मका लागि स्थगित गर्ने निर्देशनअनुसार महाधिवेशन सारिएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । युनियनले निर्वाचनको तयारी अगाडि बढाएको भए पनि स्थानीय तहको निर्वाचन परिणाम पूर्णरूपमा आइनसकेको र मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै निर्वाचन सारेको हो ।
अध्यक्ष सिग्देलले आगामी भदौ २१ र २२ गते तय भएको नवौँ महाधिवेशनको तयारीमा जुट्न सबै युनियनकर्मीलाई आग्रहसमेत गरेका छन् । उनले जेठ १३ र १४ गते निर्धारण भएको महाधिवेशन समयमै सम्पन्न गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन् । युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले आगामी जेठ १३ गते युनियनको ३१ औँ स्थापना दिवस भएकाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउनका लागि जिल्ला शाखा, प्रतिष्ठान शाखा र विदेशस्थित शाखालाई अपिलसमेत गरेका छन् ।



