images
images

१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी


  • 243
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४ सय ६० गाउँपालिकाका र २ सय ७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । 

    ६ मध्ये ३ महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भएका छन् । 

    काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ । 

    काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का टिकाराम खड्का अगाडि रहेका छन् ।  

    नतिजा सार्वजनिक भएकामध्ये ३ सय २२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १ सय ८८ गाउँपालिको अध्यक्ष र १ सय ३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १ सय २३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २ सय २ पालिका प्रमुख जितेको छ । 

    यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १ सय २१ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् । 

    कांग्रेसले १ सय ६ उपप्रमुख र १ सय ९० उपाध्यक्ष, एमालेले १ सय ६ उपप्रमुख र १ सय २६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् । 

    कांग्रेस सबैभन्दा बढी २ हजार ६ सय ३२ वडामा विजयी भएको छ । एमाले २ हजार १ सय १२, माओवादी १ हजार ४९, जसपा २ सय ९१ र अन्य दल तथा स्वतन्त्र ५ सय ८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ । 

     


    images
    images

    Logo