काठमाडौं । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ । १२ हजार ८ सय ४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरेका थिए । शाहले ११ हजार ४ सय ४८ मत प्राप्त गरे । शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएका छन् । राजवंशीले ११ हजार ९ सय १४ मत प्राप्त गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरे । ढकालले १० हजार ३ सय ४८ मत प्राप्त गरेका छन् ।
गौरादह नगरपालिकामा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो । यो नगरमा ९ वडा रहेका छन् । जसमा वडा नं १ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा कांग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाट नै जगन्नाथ खनाल, ६ मा कांग्रेसबाट तोयानाथ प्रसाईं, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी भएका छन् ।



