काठमाडौं । पोखरा महानगरपालिकामा हालसम्म १ लाख २२ हजार २ सय १९ मत गणना सकिएको छ । जस अनुसार गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४९ हजार २ सय ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३ हजार ९ सय ७९ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५ सय ८९ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४ सय ९२ मतसहित उनलाई पछ्याइरहेकी छिन् ।
महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली काँग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।



