काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । अब महानगरमा २१ हजार ६ सय १४ मत गन्न बाँकी छ । महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख ६ हजार २ सय २५ मत गणना भइसकेको छ ।
प्रमुखमा माओवादी केन्द्रकी दाहाल ९ हजार ९ सय ३० र काँग्रेसका अधिकारी १८ हजार ३ सय २५ मतले अगाडि छन् । प्रमुखमा दाहालले ४३ हजार ७ सय ४३, एमालेका विजय सुवेदीले ३३ हजार ८ सय १३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३ सय ७७ मत पाएका छन् । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७ सय ४९ मत ल्याएका छन् ।
प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेकी छिन्। हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ ।
दाहाल यसअघिको महानगरको प्रमुख थिइन् । उनलाई काँग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएकी हुन् । उनलाई राप्रपाको साथ रहेको छ ।



