काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ४ हजार ७ सय ६२ मतान्तरसहित उनी प्रमुखमा विजयीभएका हुन् । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८ सय २१ मत पाउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका थिए ।
नेकपा (एमाले) का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरिन् । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४ सय २२ मत प्राप्त गरेका थिए । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघा २० हजार ५ सय १० मतसहित निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेकपा (एमाले) का पदमप्रसाद लिम्बूले १७ हजार ६सय ६ मत प्राप्त गरे ।
२० वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।



