images
images

बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित


  • 312
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

    काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् । 

    वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २ सय २२ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ७ सय ४९ मत ल्याएका थिए ।

    उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १० हजार ७ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रुपा सापकोटाले ३ हजार २ सय ७४ मत ल्याए ।

    बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो । उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुखसहित १० वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

    यसपटक पालिकातहमा गठबन्धन भए पनि वडातहमा भने दलहरुबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । पालिकाको  १३ मध्ये वडाध्यक्ष पदमा ७ वडामा कांग्रेसका उम्मेदवार, ४ मा एमाले र २ वटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् । 

    बेलकोटगढीको अन्तिम नतिजा आएसँगै नुवाकोटमा रहेका सबै बाह्रवटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा सातवटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेस, चारमा माओवादी र एकवटामा  एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    यस्तै, उपप्रमुख तथा उपाध्यक्षतर्फ आठ पालिकामा माओवादीका उम्मेदवार र चारवटा पालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बाह्र पालिका रहेको नुवाकोटमा प्रमुख तथा अध्यक्ष एवं उपप्रमुख तथा उपाध्यक्ष चौबिस पदमध्ये समग्रमा बाह्र पदमा माओवादी, एघार पदमा कांग्रेस र एक पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

     


    images
    images

    Logo