काठमाडौ । छ मध्ये पहिलो महानगरको परिणाम सार्वजनिक भएको छ जसमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । शनिबार बिहानै विराटनगर महानगरपालिकाको परिणाम आएको हो । बिराटनगरको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर महानगर प्रमुख भएका हुन् ।
कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका छन् । थापाले २१ हजार ४ सय ५५ मत पाए। २०७४ को स्थानीय निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला एमालेका विनोद ढकालले १७ हजार ३ सय २४ मत ल्याएका थिए ।
त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन् । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मतमा चित्त बुझाए। यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । २०७४ को स्थानीय निर्वाचनमा उप मेयर पनि कांग्रेसले जितेको थियो । महानगरका १९ वडा मध्ये कांग्रेस सबै भन्दा बढी वडा जितेको छ।



