काठमाडौं । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् । ढकालले नेकपा (एमाले)का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय भएका हुन् । ढकालले १ हजार ९ सय २१ मत प्राप्त गर्दा राजवंशीले १ हजार ८ सय ७१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भएका छन् । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय भएका काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २८ हजार १ सय १२ मत प्राप्त गरी अग्रता कायम रहेको छ । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ९ सय ८३ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६ सय ६९ मत प्राप्त गरेकी छिन्।
त्यसैगरी उपप्रमुखमा सुनिता डङ्गोलले २७ हजार ७ सय २ मत प्राप्त गरी अग्रता कायम गरेकी छिन् भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय १७ मत प्राप्त गरेका छन् । हाल कामपा वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ के मत गणना कार्य जारी छ ।
अहिले काठमाडौँ महानगरपालिकामा ७४ हजार ७ सय ५१ मत गणना कार्य सकिएको छ । काठमाडौँ महानगरपालिकामा कूल मतदाता ३ लाख २ सय ४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।



